१० रुपैयाँमा पेटभरि खाना

मोरङ — आजकाल सय रुपैयाँ घटी कतै खाना खान पाइँदैन । महँगी उच्च रहेको यो समयमा १० रुपैयाँमा पेटभरि खाना खान पाइन्छ भन्दा तपाईंलाई अचम्म लाग्यो होला । हो,  यो वास्तविकता विराटनगरस्थित काली मन्दिर अगाडिको हो । यहाँका केही समाजसेवी व्यापारीहरुले तीन दिनदेखि दैनिक ८ सय जनालाई १० रुपैयाँमा पेटभरि खाना खुवाइरहेका छन् । उनीहरुले शुक्रबार ८ सय जनालाई बासमती चामलको भात र राजमाको तरकारी खुवाए ।

स्थानीय समाजसेवी दिलिप धाडेबाल, दिपक पौडेल, नन्द तापडिया, आमोद कुईंकेल, मनोज भगत, पवन अग्रवाल र मोहन भगतले १० रुपैयाँमा पेटभरि र २० रुपैयाँमा घर प्याक खाना खुवाइरहेका हुन्।

अहिले करिब ८ सय जनालाई भात र तरकारी पेटभरि खुवाउँदा दैनिक १५/१६ हजार खर्च भइरहेको धाडेबालले बताए। ‘दैनिक खाना खुवाउनका लागि सहयोगी हातहरुले सघाइरहेका छन्,’ उनले भने, ‘कसैलाई आफ्नो नामबाट खाना खुवाउन चाहेको अवस्थामा ११ हजार रुपैयाँ लिएर हामीले उनीहरुको नामबाट खाना खुवाउँछौं।’

बजारमा शुद्ध खाना पाउनै गाह्रो रहेको अवस्थामा आफूहरुले यो अभियान सुरु गरेको धाडेबालले बताए। ‘बजारमा शुद्ध शाकाहारी खाना पाउन गाह्रो भएकाले हामीले यो सानो सुरुवात गरेका छौं,’ उनले भने, ‘यसलाई देशभरि पुर्‍याउने लक्ष्य छ।’

सहयोगी हातहरुबाट सहयोग जुटाएर निःशुल्क खाना पनि खुवाउन सकिने तर सबै मानिस खान नआउने भएकाले १० रुपैयाँ शुल्क तोकेर शुद्ध खाना पेटभरि खुवाउने अभियान सुरु गरेको मनोज भगतले बताए। ‘निःशुल्क खाना भिखारीले खाने भन्दै सम्पन्न परिवारका व्यक्ति खान आउँदैनन्,’ उनले भने, ‘त्यसैले धनी, गरिब सबैलाई बराबर १० रुपैयाँमा पेटभरि र २० रुपैयाँमा होम डेलिभरी खाना दिइरहेका छौं।’

उनले दैनिक ५०/६० किलो तरकारी र ६० किलो जति बासमतीको चामल दैनिक खपत भइरहेको बताए। काली मन्दिर अगाडी दैनिक भीख माग्नेहरु बसिरहेको र उनीहरुलाई दान गर्नेहरुले १० रुपैयाँ दिने गरेका थिए। ‘दाताले पुण्य कमाउन १० रुपैयाँ दान गर्थे तर उनीहरुमध्ये कतिपयले त्यो रुपैयाँले मदिरा खाइदिने गर्दथे,’ उनले भने, ‘त्यसैले अब दाताहरुलाई पनि १० रुपैयाँमा पेटभरी खाना खुवाएर पुण्य कमाउने अवसर प्राप्त भएको छ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *