आर्सनलमाथि लिभरपुलको सानदार जित

एजेन्सी – रोबर्टो फिर्मिन्होको ह्याट्रिक प्रेरित लिभरपुलले शनिबार राती आर्सनलमाथि ५–१ को रवाफिलो जित हासिल गर्दै इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा ९ अंकको फराकिलो अग्रता लिएको छ ।

एनस्ले मेटल्यान्ड नाइल्सको गोलमा आर्सनलले ११औं मिनेटमै अग्रता लिएको थियो । एन्फिल्ड भ्रमणमा मेटल्यान्ड नाइल्सले एलेक्स इमोबीको क्रसलाई गोलमा परिणत गरेका थिए । तर युनाई इमरेको टोलीले त्यो अग्रता धेरैबेर कायम राख्न सकेन ।

उपाधिको प्रतिद्वन्द्वी टोटेनह्याम घरेलु मैदानमा उल्भससँग पराजित भएको फाइदा उठाउने क्रममा लिभरपुलले पहिलो हाफमै ४–१ को अग्रता लियो । आर्सनलको रक्षात्मक कमजोरीमा गोल गर्दै १४औं मिनेटमै फिर्मिन्होले लिभरपुललाई बराबरीमा ल्याए । त्यसको दुई मिनेट नबित्दै लुकास टोरेइराले बलमाथिको  नियन्त्रण गुमाउँदा फिर्मिन्होले दोस्रो व्यक्तिगत गोल गर्दै लिभरपुललाई अघि बढाए ।

आसनलले अनावस्यक कर्नरको मौका दिँदा एन्ड्रयु रोबर्टसनको लामो क्रसमा साडियो मानेले ३२औं मिनेटमा लिभरपुलका लागि तेस्रो गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मोहम्मद सालाहले पेनाल्टीमा गोल गर्दै योर्गान क्लोपको टोलीलाई आरामदायी अवस्थामा पु¥याए । सोकरेट्सिले आफैलाई फाउल गरेवापत प्राप्त पेनाल्टीमा सालाहले गोल गरेका थिए ।

घरेलु मैदानमा अत्यन्तै आक्रामक रुपमा प्रस्तुत भएको लिभरपुलले गोल गर्ने क्रमलाई दोस्रो हाफमा पनि निरन्तरता दियो । सिड कोलासिनाकले डेजान लोभरेनलाई फाउल गर्दा प्राप्त पेनाल्टीमा गोल गर्दै ६५औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत ह्याट्रिक पूरा गरे । फिर्मिन्होले ह्याट्रिकसहित लिभरपुललाई जित दिलाउँदा टोलीको लिगमा अपराजित यात्रा २०औं खेलसम्म लम्बिएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *