अस्ट्रेलियामा सन्दीपको उत्कृष्ट प्रदर्शन जारी

काठमाडौं– नेपाली युवा स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग ब्यास ट्वान्टी–२० मा आफ्नोे उत्कृष्ट प्रदर्शन दोहोर्‍याए पनि आफ्नो टिम मेलबर्न स्टारलाई पहिलो जित दिलाउन सकेनन्।

होबर्टमा भएको  लिगको दोस्रो खेलमा सोमबार  सन्दीपले तीन विकेट निकाले पनि ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको मेलबर्न स्टार होबर्ट हुरिकेन्ससँग ६ विकेट पराजित भयो। यसअघि पहिलो खेलमा मेलबर्न सिड्नी थन्डरसँग १५ रनले पराजित भएको थियो। लगातार दोस्रो हारसँगै सन्दीपको टोली मेलबर्न स्टारमाथि बाँकी खेलमा थप दबाब पर्नेछ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मेलबर्नले पूरै ओभर खेल्दै १ सय ५६ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। जबाफी ब्याटिङमा उत्रिएको हुरिकेन्सले आठ बल बाँकी छँदै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। हुरिकेन्सको जितमा माथ्यु वेडले अर्धशतकीय इनिङ पूरा गरेका थिए। माथ्युले ३७ बलमा ५२ रन बनाए। सन्दीपको बलमा आउट हुनुअघि माथ्युले ५ चौका र एक छक्का प्रहार गरेका थिए।

डार्सी सटले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ५ चौका र एक छक्कासहित ३४ रन बनाएका थिए। जर्ज बेलीले अविजित २७ रन बनाउँदै हुरिकेन्सलाई जित दिलाउँदा दुई चौका र एक छक्का प्रहार गरे। मेलबर्नबाट सन्दीपले चार ओभरमा २४ रन खर्चंदै तीन विकेट लिँदा स्कट बोलान्डले एक विकेट निकालेका थिए।

५.२ ओभरमा स्कटले हुरिकेन्सका डार्सीलाई आउट गर्दै मेलबर्नलाई ‘ब्रेक थ्रु’ दिलाएका थिए। त्यसपछि सातौं ओभरमा आफ्नो पहिलो ओभर बलिङ गरेका सन्दीपले तेस्रो बलमै एलेक्स डोलनलाई क्लिन बोल्ड गर्दै मेलबर्नलाई खेलमा फर्काएका थिए। उक्त ओभरमा सन्दीपले पाँच रन मात्र खर्चिए।

त्यसअघिको पाँचौं ओभरमै डार्सी तीन चौका र एक छक्का प्रहार गर्दै मेलबर्नका ड्वाने ब्राभोमाथि हाबी भएका थिए। जसका कारण पहिलो ओभरमै २० रन खर्चिएका ब्राभो महँगा साबित भए। तर, स्कटले डार्सीको आक्रामक ब्याटिङलाई शान्त पारेका थिए। नवौं ओभरमा सन्दीपले लयमा बलिङ गरे पनि पाँचौं बलमा म्याथ्युले चौका प्रहार गर्दा उनले ७ रन खर्चिए।
आफ्नो तेस्रो ओभर बलिङ गरेका सन्दीपले १४औं ओभरमा म्याथ्युलाई आउट गर्दा ८ रन खर्चिए। १६औं ओभरमा बलिङ गर्न आएका सन्दीपले पहिलो बलमै बेन म्याकडेर्मोटलाई २८ रनमै पवेलियनको बाटो देखाए। यद्यपि, अन्य बलरमाथि हुरिकेन्सका ब्याट्सम्यान हाबी हुँदा मेलबर्नले हार बेहोर्‍यो।

मेलबर्नका लागि ब्राभोले तीन ओभरमा ३८ रन खर्चिंदा एडम जाम्पाले चार ओभरमा बिनाविकेट ३२ रनको क्षति बेहोरे। त्यसअघि ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा पाँच विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो। उसका लागि म्याक्सवेलले ४७ रन र निक लार्किनले ४५ रनको योगदान दिएका थिए।

म्याक्सवेलको इनिङमा पाँच छक्का मात्र समावेश थियो। मार्कस स्टोनिस २२ रन नटआउट रहँदा अन्य ब्याट्सम्यान भने सस्तैमा आउट भए। हुरिकेन्सबाट जोफ्रा अर्चरले तीन तथा डार्सी सटले दुई विकेट लिँदै मेलबर्नको रनको गति रोकेका थिए। मेलबर्नले आगामी बिहीबार सिड्नी सिक्सर्ससँग तेस्रो खेल खेल्नेछ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *