इपिएल : उपाधिका लागि ललितपुर र भैरहवा भिड्दै

काठमाडौं – इलिमिनेटरको यात्रा तय गर्दै फाइनलमा स्थान बनाएको भैरहवा ग्लाडियटर्सका कप्तान शरद भेषावकरले एभरेष्ट प्रिमियर लिगको नकआउट चरणमा आफ्नो टोलीले राम्रो प्रदर्शन गरेका कारण फाइनलमा पनि राम्रो गर्दै उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

लिग चरणमा तीन खेलमा विजयी नतिजा निकाले पनि काठमाडौं किंग्स ११ र ललितपुर प्याट्रियट्ससँग पराजित भएपछि लिग चरणमा तेस्रो स्थानमा रहेको भैरहवाले इलिमिनेटर खेल्दै फाइनलको यात्रा तय गरेको हो । ललितपुर प्याट्रियट्स भने लिगको शीर्ष स्थानमा रहदै सिधै क्वालिफायर खेलेर फाइनलमा स्थान बनाएको हो ।

“हरेक खेलमा हाम्रो कमजोर पक्षहरुमा सुधार हुदै आएको छ । शुरुमा ब्याटिङ तर्फ ओपनिङमा केही समस्या भए पनि अहिले त्यसमा सुधार भएको छ । फाइनल अर्को एउटा खेल मात्र हो । हामी आरमले खेल्छौं । आशा छ नतिजा पनि हाम्रो पक्षमा आउनेछ,” दोस्रो क्वालिफायरमा काठमाडौं किंग्स ११ लाई ६ विकेटले  हराउँदै फाइनलमा स्थान बनाएको भैरहवाका कप्तान शरद भेषावकरले फाइनलबारे भने, “ललितपुर राम्रो टोली हो । उनीहरु सन्तुलित छन् । पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको ललितपुरले एकरुपको प्रदर्शन गरेको छ । त्यसैले उनीहरुलाई हराउन हामीले अहिलेसम्मकै बेस्ट क्रिकेट खेल्नुपर्छ । हाम्रो फिल्डिङमा अझै केही सुधार गर्न सकिन्छ । हाम्रो टोलीमा एक जनाले भन्दा पुरा टिमले खेलेका कारण फाइनल पनि जित्ने आशा गरेका छौं ।”

भैरहवाले इलिमिनेटरमा चितवन टाइगर्सलाई ४ विकेटले पराजित गरेको थियो । गत सिजन अन्तिममा दबाब खेप्न नसक्दा भैरहवामाथि विराटनगर वारियर्सले १ रनको रोमाञ्चक जित निकाल्दै उपाधि जितेको थियो ।

भैरहवाका रवि इन्दर सिंह प्रतियोगितामा अहिलेसम्म सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । रवि इन्दरले ७ इनिङमा १ शतक र १ अर्धशतकसहित ३ सय ८ रन बनाएका छन् । त्यस्तै भैरहवाका रायन टेन डेसचटले पनि ७ इनिङमा १ सय ६५ रन बनाइसकेका छन् । बलिङतपर्फ पनि भैरहवाकै मोहम्मद नाभीद १० विकेटका लागि शीर्ष स्थानमा छन् । पछिल्ला खेलमा ओपनर प्रदीप ऐरीसँगै यूवा खेलाडीले पनि राम्रो गरिहेका कारण भैरहवाका कप्तान शरद फाइनलमा पनि राम्रो गर्नेमा आशावादी छन् ।

लिग चरणमा एक खेलमात्र हारेको ललितपुरले पहिलो क्वालिफायरमा जितका लागि संघर्ष गर्नु परेको थियो । १ सय ९ रनको लक्ष्य पछ्याएको ललितपुरले अन्तिम बलमा मात्र जित पक्का गरेको थियो । ललितपुरका योगेन्द्रसिंह कार्कीले चार बलमा २÷२ विकेट रन लिदै टोलीलाई फाइनलमा पु¥याएका थिए । ललितपुरका कप्तान ज्ञानेन्द्र मल्लले त्यस्तो कठिन अवस्थामा पनि जित निकाल्न सफल भएका कारण फाइनलमा टोलीको मनोबल बढेको बताएका छन् । उनी भन्छन्, “हामीले निरन्तर राम्रो क्रिकेट खेल्दै आएका छौं । क्वालिफायरको यस्तो कठिन अवस्थामा पनि जित्न सफल भएका छौं । पक्कै पनि यसले टोलीका मनोबल बढाएको छ । आशा गरौं फाइनलमा पनि सुखद नतिजा निकाल्न सफल हुन्छौं ।”

घरेलु प्रतियोगितामा यसअघि पोखरामा सम्पन्न पोखरा प्रिमियर लिगमा शरदको पोखरा पल्टनले उपाधि नै जितेको थियो । त्यसबाहेक धनगढी प्रिमियर लिगको पहिलो संस्करण तथा इपिएलकै अघिल्लो संस्करणमा शरदको टोली फाइनलमा पराजित भएको थियो । त्यसअघि ५० ओभरको नेपाल प्रिमियर लिग तथा इपिल २०१६ संस्करणको उपाधि पनि शरदले जितेका थिए । त्यसैले शरदसँग फाइनलको धेरै अनुभव छ । ललितपुरका कप्तान ज्ञानेन्द्रमल्लसँग शरदको तुलनामा कम अनुभव छ । ज्ञानेन्द्रको काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिगको दोस्रो संस्करणमा फाइनल खेलेको थियो ।

ललितपुरका सन्नी पटेलले पनि १० विकेट लिएका छन् । ललितपुरकै पवन सर्राफले पनि ९ विकेट लिएका छन् । ब्याटिङ तर्फ ललितपुरका गौरव तोमरले ६ इनिङमा २ सय ६ रन बनाएका छन् । उनी धेरै रन बनाउने तेस्रा खेलाडी हुन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *