लगातार चौथो हारसँगै इपिएलबाट बाहिरियो पोखरा

काठमाडौं – पोखरा राइनोज एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको आफ्नो चौथो खेलमा पनि काठमाडौं किंग्स इलाभेनसँग पाँच विकेटले पराजित भएसँगै पोखरा एक बाँकी छँदै बाहिरिएको हो । १६६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

काठमाडौंको जितमा केभिन ओब्रिनले अलराउन्डर प्रदर्शन गरे । उनकै उत्कृष्ट ब्याटिङमा काठमाडौंले जित हात पारेको हो । उनले ३५ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै अविजित ५४ रन बनाए ।

त्यस्तै, काठमाडौंका कप्तान रोहन मुस्तफाले ४० रन बनाए । उनले ३१ बलमा सात चौका प्रहार गरे । बलिङतर्फ पोखराका लागि विक्रम सोबले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखरा राइनोजले २० ओभरको क्षतिमा १६५ रन बनाएको थियो । पोखराले सुरुवात राम्रो गरे पनि मध्यम क्रममा ब्यट्सम्यान राम्रोसँग चल्न नसक्दा मध्यम स्कोर बनाएको थियो ।

पोखराका लागि रिचार्ड लेभीले ३८ रन बनाए । उनले २१ बलमा चार चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, पोखराका लागि कप्तान कायल कोएट्जरले ३७ रन बनाए । उनले २५ बलमा ६ चौका प्रहार गरेका थिए । पाउल कौग्लिनले ३७ रन बनाउँदा विनोद भण्डारीले १७ रनको योगदान दिएका थिए ।

बलिङतर्फ काठमाडौंका केभिन ओब्रिन र विक्रम भुसालले समान २–२ विकेट लिए ।

४३ रन हुँदा पहिलो विकेटको रुपमा लेभीलाई गुमाएको पोखरालाई आफ्नो दोस्रो विकेटको रुपमा ७७ रन हुदा सुनील धमलालाई गुमाएको थियो । सम्हालिएर आफ्नो इनिङ्स उकास्ने प्रयास गरे पनि कप्तान कोएट्जर १०९ रन हुँदा आउट भएपछि पोखरा दबाबमा आएको थियो ।

यसअघि पोखराले आफ्नो पहिलो खेलमा भैरहवा ग्लाडिएटर्ससँग चार विकेटले पराजित भएको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा ललितपुर प्याट्रिएटससँग आठ विकेटले पराजित भएको पोखरा तेस्रो खेलमा भने विराटनगर वारियर्ससँग सुपर ओभरमा पराजित भएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *