घरायसी विवादमा छुरा प्रहार गरि आफ्नै बाबुको हत्या

विराटनगर – घरायसी विवादमा विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा छोराले छुरा प्रहार गर्दा बुबाको मृत्यु भएको छ ।

विराटनगर– १७ का २२ बर्षका चुनु मण्डलले छुरा प्रहार गर्दा बुबा शशी मण्डलको मृत्यु भएको छ । चुनुकै छुरा प्रहारबाट दाजु आकाश पनि घाइते भएका छन् ।

बिहीबार राति छुरा प्रहारबाट घाइते भएका शशीलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेजमा पुर्‍याइएको थियो । उपचारका क्रममा राति १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

बिहीबार शशी मण्डल, जेठी श्रीमतीको आकाश मिया मण्डल र शशी मण्डलको कान्छी श्रीमतीका छोरा चुनु मण्डलबीच घरायसी विषयमा विवाद भएको थियो । विवादकै क्रममा मादक पदार्थ सेवन गरेका चुनुले छुरा प्रहार गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । छुरा प्रहारबाट घाइते भएका आकाश मण्डलको नोबेल मेडिकल कलेजमा उपचार भैरहेको छ ।

बुबा र दाजुलाई छुरा प्रहार गरी फरार भएका मण्डललाई प्रहरीले नेपाल भारतको सीमा क्षेत्रबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको छ ।

बिहीबार राति छुरा प्रहार गरी फरार भएका चुनुको खोजी गर्ने क्रममा सीमा क्षेत्र जोगवनीबाट नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले जानकारी दिए । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *