पिपिएल विराटनगरको रोमाञ्चक जित, बुटवलको पहिलो हार

पोखरा- पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ। विराटनगरले बुधबार पोखरा रंगशालामा भएको बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गरेको हो।

विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य वुटबलले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन मात्र जोड्न सक्यो।

अन्तिम ओभरमा जितका लागि १३ रन चाहिएको स्थितिमा विराटनगरका बलर किशोर महतोले मेडन ओभर गरेपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो। अन्तिम ओभरमा सिद्धान्त लोहनी १५ रनमा रनआउट हुनु बुटवलका लागि दुर्भाग्यपूर्ण सावित भयो।

यसअघि लगातार ३ खेलमा पराजित भएको विराटनगरको पहिलो जित हो। बुटवलको भने यो पहिलो हार हो। बुटवलले यसअघि लगातार २ खेलमा जित हात पारेको थियो।

बुधबार पोखरा रंगशालामा भएको खेलमा बुटवलका लागि भीम सार्कीले अर्धशतक प्रहार गरे। रनआउट हुनुअघि भीमले ५० रन जोडे। उनले ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

त्यसअघि बुटवलका ओपनर चिराग सुरी शून्यमै आउट भएका थिए। लगत्तै रोहान मुस्ताफा पनि १ रनको झिनो स्कोरमा आउट भए। दुवैलाई विराटनगरका तिव्र गतिका बलर किशोर महतोले पेभिलियनको बाटो देखाएका थिए। ‌

ओपनिङ ब्याट्सम्यान सागर पुनले २९ रनको योगदान दिए।  सागर ३३ बलमा ४ चौका प्रहार गरे। शंकर रानाले सन्दीप लामिछानेबाट बोल्ड हुनुअघि १६ बलमा ३ चौका र १ छक्काको मद्दतमा २३ रन बनाए। शंकर आउट भए लगत्तै मैदान छिरेका प्रकास केसीलाई पनि सन्दीप लामिछानले शून्यमै बोल्ड गर्दै पेभिलियन फर्काए। कप्तान सोमपाल कामी पनि ७ रनमा आउट भए।

बलिङमा सन्दीप लामिछाने र किशोर महतोले २-२ विकेट लिए। सुनील धमला र सहाब अलामले १-१ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रन जोड्यो।

विराटनगरका लागि ओपनर मोहमद जायद अलामले सर्वाधिक रन जोडे। लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गर्ने क्रममा ७२ रन जोडे। १५‍औं ओभरको तेस्रो बलमा सागर पुनबाट आउट हुनुअघि उनले ४५ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

अर्का ओपनर सुनील धमला भने डकआउट भए। लगत्तै जितेन्द्रसिंह ठकुरी २ रनमा आउट भएपछि विराटनगर सुरुमै दबाबमा आएको थियो। तर जायद र प्रदीप ऐरीबीच तेस्रो विकेटका लागि ६७ रनको साझेदारी भएपछि विराटनगरको इनिङ उकासिएको थियो।

मध्यक्रमका ब्याट्सम्यान राजेशपुलामी मगरले भने १ रन भन्दा बढी रन जोड्न सकेनन्।

प्रदीप ऐरीले ४१ रन बनाए। उनले ४३ बलमा ३ चौका प्रहार गरेका थिए। यस्तै राजु रिजाल ८ रनमा बुटवलका कप्तान सोमपाल कामीबाट रनआउटको सिकार बने। अन्तिम ओभरको पाँचौ बलमा सोमपालले सन्दीप लामिछानेलाई पनि १ रनमा रनआउट गरे। विराटनगरका लागि पुष्प थापाले नटआउट ४ रन जोडे।

बलिङमा ललितसिंह भण्डारीले २ विकेट लिए। विपिन खत्री, सांसद शेख र सागर पुनले १-१ विकेट लिन सफल भए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *