पोखरा प्रीमिएर लिग- संकटमा लामिछाने नेतृत्वको बिराटनगर टाइटन

काठमाडौ कात्तिक ११,  एकपछि अर्को विदेशी फेन्चाइज क्रिकेट लिगमा छनोट भएर विश्वचर्चित बनेका नेपालका युवा लेगस्पिनर सन्दीप लामिछानेले घरेलु लिगमा भने अपेक्षाकृत सुरुवात गर्न असफल भएका छन्। पर्यटकीय नगरी पोखरामा भइरहेको पोखरा प्रिमियर लिग (टी-२०) क्रिकेट प्रतियोगितामा सन्दीपको कप्तानीमा रहेको विराटनगर टाइटन्स सुरुवाती २ खेलमा पराजित भएको छ, त्यो पनि फराकिलो अन्तरले।

उद्घाटन खेलमा विराटनगरलाई घरेलु टिम पोखराले ५८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। खेलमा पोखराले जारी प्रतियोगिताको अहिलेसम्मकै उच्च स्कोर बनाउने क्रममा ३ विकेटको क्षतिमा १ सय ९७ रन जोडेको थियो। बलिङमा विराटनगरका सन्दीपले २ विकेट लिँदा अन्य बलर खासै चल्न सकेका थिएनन्। पोखराविरुद्ध विराटनगरले १३९ रन मात्र जोड्न सकेको थियो।

आइतबार भएको दोस्रो खेलमा पनि विराटनगरलाई एक्पर्ट धनगढी बुल्जले ७८ रनको विशाल अन्तरले पराजित गर्यो। पहिले ब्याटिङ गरेको धनगढीले १ सय ८२ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको विराटनगर १ सय ४ रनमै अलआउट भयो। लगातार दोस्रो खेलमा पराजित भएपछि कप्तान सन्दीप लामिछानले आफ्नो टिम हार्नुको कारण बलिङलाई दिए। उनले भने,’आजको खेलमा सुरुको १६-१७ ‌ओभरमा बलिङ राम्रै थियो। हाम्रो योजनाअनुसार नै खेल भइरहेको थियो। विकेट राम्रो थियो। १५०-१६० सम्मको बन्नु समान्य हो। तर हामीले २०-३० रन बढी खायौं। हामी आगामी खेलमा गल्तिहरु सुधार गरेर अघि बढ्नेछौ।’

बलिङ राम्रो गर्न नसक्दा ब्याटिङमा दबाब थपिएको सन्दीपले महसुस गरेका छन्। ‘हामीले राम्रो बलिङ नगरेर ब्याटिङमा दबाब भइरहेको जस्तो लागेको छ। आगामी खेलमा भने हामी बलिङमा पुनरागमन गर्नेछौं। जित निकाल्नका लागि हामी तयारी गरिरहेका छौं,’ सन्दीपको भनाइ छ।

सन्दीप आफ्नो व्यक्तिगत प्रदर्शनमा भने सन्तुष्ट छन्। उनले २ खेलमा गरी ३ विकेट लिएका छन्। पोखराविरुद्धको खेलमा उनले ४ ओभर बलिङ गर्दा २६ रन खर्चिएर २ विकेट लिएका थिए। आइतबार बुटवलविरुद्ध सन्दीपले १ विकेट मात्र लिन सके। ४ ओभर बलिङ गर्दा सन्दीपले २४ रन खर्चिएका थिए। आफ्नो प्रदर्शनबारे उनी भन्छन्,’मेरो बलमा धेरै ब्याट्सम्यानले रिक्स लिदैनन्। जबसम्म मलाई कसैले रिक्स लिँदैन विकेट पाउने चान्स बढी हुन्छ। रन चहिँ गरिरहेको छ। रन अझै पनि रोक्न सकिन्थ्यो।’

लगातार २ खेलमा हार बेहोरेपछि विराटनगरका लागि दोस्रो चरणमा पुग्न बाँकी रहेका तीन खैल नै जित्नु पर्ने दबाब थपिएको छ। विराटनगरले अब सोमबार विहान हुलास काठमाडौं रोयल्ससँग खेल्नेछ। २ दिनपछि विराटनगरले बुटवल ब्लास्टर्ससँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा विराटनगरको भिडन्त राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ।

सन्दीप पनि लगातार २ खेलमा पराजित भएपछि विराटनगरलाई कठिन भएको स्विकार गर्छन्। उनी भन्छन्,’ हाम्रा लागि अब कठिन छ। किनभने अघिल्लो चरणमा पुग्न बाँकी तीनै खेल जित्नु पर्नेछ।’

विराटनगरमा सन्दीप बाहेक सहाब अलाम, जितेन्द्र मुखिया र किशोर महतो मुख्य बलरको रुपमा छन्। विदेशी खेलाडीमा भारतका एन्ड्रिउ सुविक्षण र पाकिस्तानका मोहमद जइद अलाम छन्। सुविक्ष अलराउन्डर हुन् भने अलाम ब्याट्सम्यान हुन्।ब्याटिङमा प्रदीप ऐरी, सुनील धमला, राजु रिजाल, राजेशपुलामी मगर र पुष्प थापा रहेका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *