विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं – विदेशबाट मोबाइल फोन ल्याउन गरिएको कडाइलाई तत्काल कार्यान्वयनमा नल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट ल्याइने मोबाइल फोनमा गर्न लागिएको कडाइ अहिलेका लागि कार्यान्वयनमा नल्याउन निर्देशन दिएका हुन्।

‘प्रधानमन्त्रीले अर्थमन्त्रीलाई विदेशबाट ल्याइने मोबाइलमा गरिएको कडाइ तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने।

भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाइ गर्ने बताएको थियो। व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्ने बताएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले भनेका थिए, ‘विदेशबाट झिटीगुन्टा सुविधाअनुसार प्रतिव्यक्ति एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ। सोभन्दा बढी ल्याएमा भन्सार तिराउने वा जफत गर्ने अधिकार भन्सार विभागसँग हुन्छ। यसभन्दा अघिसम्म हामीले व्यक्तिले पेस गरेको स्पष्टीकरण र पृष्ठभूमिको आधारमा दुइटासम्म फोन ल्याउन दिएका थियौं। अब भने दोस्रो फोनको पनि भन्सार तिर्नैपर्ने हुन्छ।’

उनकाअनुसार एक जना व्यक्तिले दुईभन्दा बढी फोन ल्याएको खण्डमा जफत गर्ने तयारी थियो। भन्सार छलेर नेपाल भित्र्याएका फोनहरू नचल्ने बताइएको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *