नेयमारको कमब्याकमा कोरियामाथि ब्राजिलको सानदार जित

कतार – चोटबाट फर्किएका नेयमरको गोल र असिस्टमा दक्षिण कोरियाविरुद्ध ४–१ को जित हात पार्दै ब्राजिल विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । स्टार खेलाडी नेयमरको पुनरागमनमा ब्राजिलले रंगशाला ९७४ मा सोमबार उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण कोरियालाई ४–१ ले पन्छाउँदै विश्वकप २०२२ को अन्तिम आठको यात्रा तय गरेको छ ।

पाँचपल्टको विश्वकप विजेता ब्राजिलले कोरियालाई निरीह तुल्याउने क्रममा पहिलो हाफमै चार गोल गऱ्यो । नेयमरले सिर्जना गरेको अवसरमा भिनिसियस जुनियरले सातौं मिनेटमै गोलको खाता खोले । रिचार्लिसनलाई फउल गरेपछि पाएको पेनाल्टीमा नेयमरले कोरियाली गोलकिपर किम सुङ-ग्युलाई जिल्याउँदै १३ औं मिनेटमै ब्राजिलको अग्रता दोब्बर बनाए । कतार संस्करणको पहिलो खेलमा सर्वियाविरुद्ध २-० ले जितेको खेलमा घाइते भएका नेयमर समूह चरणका दुई खेल गुमाएपछि मैदानमा फर्किएका हुन् । ३० वर्षीय उनी कोरियाविरुद्धको गोलसँगै ब्राजिलका लागि सबैभन्दा बढी ७७ गोलको कीर्तिमान बनाएका पेलेभन्दा एक गोलनजिक पुगेका छन् । ८० मिनेटसम्म मैदानमा रहेका उनले पहिलो हाफमा केही राम्रा मुभहरू बनाए । कप्तान थियागो सिल्भाको पासमा रिचार्लिसनले २९ औं मिनेटमा विश्वकपमा आफ्नो तेस्रो गोल गरे । उनले सर्वियाविरुद्ध दुई गोल गरेका थिए । भिनिसियसले दिएको बललाई भलीमार्फत ल्युकास पाक्वुएटाले ३६ औं मिनेटमा ब्राजिलको चौथो गोल गरे ।

दोस्रो हाफमा ब्राजिलले उस्तै मेहनत गरेन । समूहको अन्तिम खेलमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई २-१ ले पराजित गर्दै १२ वर्षपछि नकआउट चरणमा छनोट भए पनि ब्राजिललाई कोरियाले चुनौती दिन सकेन । उसले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गऱ्यो । उसको प्रयासमा गोलकिपर एलिसन बेकरले केही राम्रो बचाउ पनि गरे । पाइक सुङ–होले करिब ३० यार्डबाट सशक्त प्रहार गर्दै बललाई जाली चुमाउँदै ७६ औं मिनेटमा सान्त्वना गोल गरे । प्रशिक्षक टिटेले गोलकिपर बेकरको स्थानमा वेभरर्टन परेइरा डा सिल्भालाई ८० औं मिनेटमा विश्वकप डेब्यु दिए पनि कोरियाले अर्को गोल गर्न सकेन ।

अब ब्राजिलले सेमिफाइनल प्रवेशका लागि चार वर्षअघिको उपविजेता क्रोएसियाविरुद्ध शुक्रबार अल रायनस्थित एजुकेसन सिटी स्टेडियममा प्रतिस्पर्धा गर्नेछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *