माओवादीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास, निर्वाचन कार्यतालिका स्थगन

काठमाडौँ – माओवादी केन्द्रले जारी आठौं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनबाट पारित विधानअनुसार निर्वाचन आयोगले मिश्रित निर्वाचन प्रणालीबाट केन्द्रीय समिति चयनको प्रक्रिया सुरु गरे पनि माओवादीले सहमतिमार्फत केन्द्रीय समिति घोषणाको गृहकार्य गरेको हो ।

सहमतिमा केन्द्रीय समिति चयनको गृहकार्यसँगै माओवादीको निर्वाचन आयोगले औपचारिकताका लागि निर्वाचनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ । महाधिवेशनबाट शनिबार विधान अनुमोदन भएलगत्तै आयोगले केन्द्रीय समिति ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीबाट चयन गर्ने प्रक्रिया अगाडि बढाएको थियो । तर, सहमतिका लागि भन्दै निर्वाचन प्रक्रियाका सबै काम आइतबार २ बजेसम्मका लागि रोकिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहालले बन्दसत्रमा सहमतिमा नेतृत्व टुंग्याउने प्रस्ताव राखेका थिए । माओवादीको महाधिवेशन प्रचार तथा प्रकाशन उपसमितिका अनुसार शनिबारको बन्दसत्रमा अध्यक्ष दाहालले केन्द्रीय समिति सहमतिबाटै चयनका लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने जानकारी गराएका थिए । केन्द्रीय समिति सहमतिबाट चयन गर्न महाधिवेशन आयोजक समितिमा छलफल गर्ने भन्दै त्यसका लागि अनुमति दिन बन्दसत्रसमक्ष दाहालले प्रस्ताव गरेका थिए ।

दाहालले सहमतिबाटै केन्द्रीय समिति चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकाले बन्दसत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्ने प्रस्ताव राखेका थिए । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेपछि सहमतिबाटै केन्द्रीय समिति चयनका लागि दिनभर छलफल चलेको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *