काठमाडौं – गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा आज सर्वोच्च अदालतले अन्तिम सुनुवाइ सुरू गर्दै छ।
निष्क्रिय नागरिकता प्रयोग गरेर चितवन-२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका र निर्वाचित भएका उनलाई अयोग्य घोषित गर्न माग गर्दै सर्वोच्चमा रिट परेका थिए।
संवैधानिक इजलासले यी रिट निवेदनमा आजदेखि अन्तिम सुनुवाइ गर्ने र फैसला गर्नेगरी यो मुद्दालाई अग्राधिकार दिएको थियो।
चुनावभन्दा चार महिनाअघि पार्टी गठन गरेर, चितवन- २ बाट भारी मतान्तरले सांसद जितेका र उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको नागरिकता विवादमा सर्वोच्चले के फैसला गर्छ भन्ने आमचासो छ।
कतिपयले रवि नेपाली नै हुन् किन शंका र विवाद झिकेको भन्ने प्रश्न पनि गरेका छन्। अदालतमा पुगेको यो विवाद उनी नेपाली हुन कि होइनन् अथवा उनी नेपाली नागरिकता पाउन योग्य छन् कि छैनन् भन्ने होइन।
अमेरिकी नागरिकता त्यागेपछि फेरि नेपाली नागरिकता लिन तोकिएका प्रकृया पुरा गर्नुपर्छ कि पर्दैन भन्ने अहिलेको मुख्य विवाद हो।
रिट निवेदकहरूले उनले अमेरिकी नागरिकता त्यागेपछि पुन: नेपाली नागरिकताको प्रमाणपत्र लिन प्रक्रिया पूरा नगरेकाले उनको नागरिकता कायम नरहेको तर्क गरेका छन्। लामिछानेले भने अमेरिका जाँदा पनि नेपाली नागरिकता नत्यागेकोले उताको नागरिकता त्यागिसकेपछि यताको नागरिकता स्वत: कायम हुने तर्क गरेका छन्।
अब संवैधानिक इजलासले यो मुद्दामा पाँच वटा विषयबारे निर्णय गर्नुपर्ने छ।
पहिलो, विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता आफैं रद्द हुन्छ कि त्याग्नु पर्छ?
दोस्रो, विदेशी नागरिकता लिएको नेपालीले उताको नागरिकता त्यागेपछि स्वत: नेपाली नागरिकता सक्रिय हुन्छ कि पुन: नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा गर्नुपर्छ?
तेस्रो, रवि लामिछानेको सांसद पद के हुन्छ? चौथो, उनको नागारिकता नै कायम नरहेको अवस्था हो भने त्यो नगारिकता पेश गरेर उनले लिएको दलको सदस्यता के हुन्छ? उनी रास्वपाको सदस्य वा सभापति रहन सक्छन् वा सक्दैनन्?
पाँचौं, लामिछानेले अमेरिकी नागरिकता र राहादानी कायम रहेकै बेला नेपाली नागरिकता देखाएर नेपाली राहदानी लिएको अर्को पनि विवाद छ। यो विवाद पनि अदालत पुगेको छ। गृह मन्त्रालयको निर्देशनमा लामिछानेको नागरिकता र राहदानीमाथि काठमाडौं जिल्ला प्रहरीले अनुसन्धान सुरू गरेको थियो। उनी आफैं गृहमन्त्री भएपछि सो अनुसन्धान रोकिएको छ। सर्वोच्चले यो अनुसन्धानको कहाँ पुगेको छ भनेर पनि विवरण मागेको छ।
विदेशी राहादानी कायमै रहेको बेला झुटा विवरण दिएर नेपाली राहादानी लिएको विषयमा संवैधानिक इजलासले के भन्छ भन्ने पनि महत्वपूर्ण प्रश्न छ।पहिलो प्रश्नमा अदालतले गर्ने फैसलाले विदेशमा रहेका लाखौं नेपालीलाई पनि प्रभावित गर्ने छ।नागरिकता ऐनको दफा १० को उपदफा १ मा विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने उल्लेख छ। उपदफा २मा नागरिकता त्याग्ने प्रक्रिया छ।
लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता त्याग्ने प्रक्रिया पुरा गरेका थिएनन्। उनले जस्तै अरू धेरै व्यक्तिले पनि यो प्रक्रिया पूरा गरेका नहुन सक्छन्। कतिपयले मुलुकले आफ्नो नागरिकता दिँदा अर्को मुलुकको नागरिकता त्याग्न भन्दैन। त्यसैले उनीहरूले यहाँको नागरिकता त्याग्न जरूरी सम्झेका हुन्नन्। नेपाली कानुनले भने दोहोरो नागरिकतालाई अपराध मानिन्छ। त्यसैले विदेशी नागरिकता लिने व्यक्तिले यहाँको नागरिकता त्याग्न पर्छ। रवि लामिछानेले त्यतिबेला दोहोरो नागरिकता बोकेर हिँडेको विषय अहिले उनीमाथि नैतिक र कानुनी प्रश्नको विषय बनेको छ।