मन्त्रिपरिषद विस्तार आज, कुन पार्टीलाई कुन मन्त्रालय?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सोमबार उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति जुटेको थियो।

दलका नेताहरूले सत्ता साझेदार दलका बैठकमा भएका सहमति आज आ-आफ्ना पार्टीभित्र पनि छलफल गरेपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ। मंगलबार दिउँसो मन्त्रिपरिषद विस्तार हुनेछ।दलका शीर्ष नेताहरूले आफ्नो पार्टीलाई परेको भागका आधारमा मन्त्रीको नाम दिएपछि ती नाम राष्ट्रपति कार्यालय पठाइनेछ। मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउने कार्यक्रम छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गत पुस १० मा ७ दल र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। पुस ११ मा उनले ८ मन्त्रीसहित शपथ लिएका थिए। मन्त्री भएकामध्ये केहीलाई मन्त्रालयको जिम्मेवारी दिइएको थिएन भने १७ मन्त्रालय प्रधानमन्त्री आफैंले हेर्दै आएका थिए।

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल एमाले अध्यक्ष ओलीसँग पटकपटक भेटवार्ता गर्दै मन्त्रिपरिषद विस्तारलगायत विषयमा कुराकानी गरेका थिए। गत पुस २६ मा नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोसपालगायत दलले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। यसपछि मन्त्रिपरिषद विस्तारमा झन् अन्यौलता सिर्जना हुँदै आएको थियो।

तर सोमबार भएको सत्ता साझेदार दलको बैठकले मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटाएको छ भने मन्त्रालय कसले कुन लिने भन्ने पनि टुंगो लगाएको छ। एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीले कुन-कुन मन्त्रालय लिने भन्ने भागबन्डा मिलेको हो। लोसपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएका छन्।

एमालेले ८, माओवादीले ४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपाले ३ र जनमत पार्टीले एक मन्त्री पाउने गरी भागबन्डा गरिएको छ। साथै रास्वपा र राप्रपाले एक-एक राज्यमन्त्री पाउने सहमति पनि बनेको नेताहरूले बताएका छन्।

तर गृहमन्त्री रवि लामिछानेले जसपालाई समझदारीमा ल्याउन र अन्यलाई समेट्न केही संख्या हेरफेर हुनसक्ने बताए। उनकाअनुसार मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ कार्यक्रम तय भएको छ।

स्रोतका अनुसार एमालेले रक्षा, परराष्ट्र, स्वास्थ्य, कृषि, भूमि व्यवस्था, महिला बालबालिका र उद्योग मन्त्रालय लिने समझदारी बनेको छ। एमालेले दाबी गरेका केही मन्त्रालयमा अन्य दलले पनि दाबी गरेका कारण हेरफेर हुन सक्ने एक नेता बताउँछन्।एमालेले यसअघि अर्थ मन्त्रालय लिइसकेको थियो। माओवादीले सञ्चार, भूमि व्यवस्था, स्वास्थ्य, खेलकुद मन्त्रालय लिने छलफल पनि भएको थियो।

राप्रपाले ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाउने ती नेता बताउँछन्। उपप्रधानसहित ऊर्जा मन्त्रीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जाने भए पनि अन्य मन्त्रालयमा कसलाई पठाउने राप्रपाले टुंगो लगाइसकेको छैन। उसले पाएका मन्त्रालय पनि हेरफेर हुन सक्छ किनभने खेलकुद मन्त्रालयमा माओवादीको पनि दाबी छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा र श्रम मन्त्रालय पाएको छ। यसअघि उक्त पार्टीले उपप्रधानसहित गृहमन्त्री पाएको थियो। कुन पार्टीले कुन मन्त्रालय पाएको औपचारिक जानकारी मंगलबार नै दिने नेताहरू बताउँछन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *