विश्वकप २०२२ फाइनल: सुखद् बिदाइको खोजीमा मेस्सी, इतिहास रच्ने दाउमा एमबाप्पे

फिफा विश्वकप २०२२ अन्तर्गत आइतबार राति (नेपाली समयअनुसार ८:४५ बजे) हुने फाइनल भिडन्त अविमस्णीय हुँदैछ। विश्व फुटबलका सुपरस्टार लिओनल मेसीले आफ्नो देशका लागि अन्तिम खेल खेल्दैछन्।

आफ्नो ‘फुटवर्क’ ले सारा फुटबल प्रेमीलाई रोमाञ्चित बनाउने मेसीको अन्तिम अन्तर्राष्ट्रिय खेल हेर्न जो-कोही पनि लालायत हुनेमा दुई मत छैन। अझ त्यही अन्तिम खेलले मेसीलाई विश्व च्याम्पियन बनाउन सक्छ भने त्योभन्दा अद्भूत क्षण के होला?

कतारको लुसेलस्थित लुसेल रंगशालामा मेसीले साउदी अरेबियासँग पहिलो खेल खेलेका थिए। त्यसपछि उनले यो रंगशालामा मेक्सिकोविरुद्ध पनि खेले। त्यही खेलमा विश्वकप २०२२ को पहिलो जितको स्वाद चाखे। समूह चरणमा पोल्यान्डसँग ९७४ रंगशालामा खेलेपछि अस्ट्रेलियासँगको अन्तिम १६ को खेल भने अहमद बिन अली रंगशालामा भएको थियो।

त्यसपछि दुवै खेल उनले लुसेल रंगशालामै खेलेका छन्। नेदरल्यान्ड्स विरुद्धको क्वार्टरफाइनल र क्रोएसिया विरुद्धको सेमिफाइनलमा उनले लुसेलमा आफ्नो जादू देखाएका थिए।

जारी विश्वकपमा खेलेका ६ खेलमध्ये ४ खेल लुसेलमा खेलिरहेका मेसीका अन्तिम खेल पनि यही रंगशालामा हुँदैछ। उनका लागि यो मैदान ‘होम ग्राउन्ड’ जस्तै भएको छ।  के थाहा मेसीका लागि झन्डै ९० हजार दर्शक अट्ने रंगशाला एउटा ‘लक’ पो बनिदिन्छ कि!

तर उपाधि जित्नका लागि मैदानमा लड्न पर्छ, विपक्षीको पोस्टमा गोल हानेर खेल जित्न पर्छ। मेसीका लागि बिदाइ खेल सहज छैन। अर्जेन्टिनाले प्रतियोगिताकै सबैभन्दा बलियो टिम अझ साविक विजेता फ्रान्स प्रतिद्वन्द्वी पाएको छ। टिममा विश्वकपका नाम चलेका प्रतिभाशली खेलाडीको जमघट छ। अझ अहिलेका युवा स्टार केलियन एमबाप्पे टिममा छन्।

मेसीलाई झैं एमबाप्पेलाई पनि यो विश्वकप उतिकै महत्वपूर्ण छ। उनी २३ वर्षका भए। १९ वर्षको उमेरमा चार वर्षअघि रसियामा विश्वकपको ट्रफी उचालेका एमबाप्पे २३ वर्षको उमेर अर्को ट्रफी उचालेर इतिहासमा आफ्नो स्वर्ण अक्षरले लेख्न चाहन्छन्।

त्यो इतिहास लेख्नका लागि एमबाप्पेमा क्षमता पनि छ। एमबाप्पेको सबैभन्दा ठूलो हतियार उनको गति हो। उनी यति उच्च गतिमा दौडन्छन् कि विपक्षी टोलीका रक्षकलाई रोक्न हम्मेहम्मे पर्छ। उनी लगभग ३५ किलोमिटर प्रति घण्टाको औसत गतिमा दौडन्छन्।

उनको गतिलाई चुनौती दिनेहरू पनि छन्, तर एमबाप्पेसँग गोल गर्ने गति र क्षमता छ अरु खेलाडीको भन्दा फरक किसिमको।

मेसीले आफ्नो लागि विश्वकप जित्ने अन्तिम अवसर भएको भनिरहदा एमबाप्पेले आफ्नो लक्ष्य लगातार दोस्रो पटक उपाधि जित्ने बताएका छन्। जारी विश्वकपमा दुवैले पाँच-पाँच गोल गर्दै गोल्डेन बुटको लागि अग्रपंक्तिमा छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *