मेलम्चि – सरकारले नेपाल भ्रमण बर्ष सन २०२० को घोषणा गरेसँगै देशमा आन्तरिक तथा बाह्य पर्यटनको चाप बढ्दो छ । यही क्रममा देशकै प्रसिद्ध पर्यटकीय गन्तव्य हेलम्बुमा पनि दिनप्रतिदिन आन्तरिक तथा बाह्य पर्यटकहरुको चाप बढ्दो छ । तर पर्यटकहरुको सेवा सुविधाका लागि सुविधायुक्त होटल रिसोर्टको अभाव यो क्षेत्रले झेल्दै आइरहेको छ ।
हेलम्बु क्षेत्र प्रवेश गर्ने पर्यटकहरुको को प्रमुख बिन्दु तथा सिन्धुपाल्चोकको प्रमुख शहर मेलम्चीमा समेत सुविधाजनक होटल, रिसोर्टहरु कमै मात्रामा रहेका छन् । यसैलाई मध्यनजर गर्दै खाना खाजा र बासको उत्तम विकल्पका रुपमा मेलम्चीमा फुच्चे केटोको सेकुवा एण्ड गेष्ट हाउस खुलेको छ । यसअघि पलेटी रेष्टुरेण्टको संचालन गर्दै आइरहेका युवा व्यवसायि रामकृष्ण दाहालले यो सेकुवा एण्ड गेष्ट हाउस संचालनमा ल्याएका हुन् । राजधानीमा ख्याती कमाएका बाजेको सेकुवाजस्तै परिकार र गेष्ट हाउसमा पनि अत्याधुनिक सेवा दिने अठोट लिएको सञ्चालक दाहाल बताउँछन् ।
छोटो अवधिमा पलेटीमा रेष्टुरेण्ट बाट पाएको सफलताबाट हौसिएका दाहालले ग्राहकहरुलाई अझै बढी सेवा र सत्कार दिने उद्देश्यले व्यवसाय विस्तार गरेको बताए ।
पछिल्लो समय नेपाली युवा खाडी विदेश पलायन भइरहेको अवस्थामा आफ्नै देशमा पसिना बगाउनुपर्छ भनेर अघि बढिरहेका दाहाल धेरै युवाहरुका लागि प्रेरणाको स्रोत समेत बनिरहेका छन् । वैदेशिक रोजगारिका क्रममा केहि समय विदेश बसेर विदेशबाट फर्किएसँगै आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने भावना जागेर व्यवसाय शुरु गरेका दाहाल आफूसँग भएको सानो लगानीलाई सही ठाउँमा लगाइयो भने खाडीमा कमाउने रकम यही कमाउन सकिने बताउँछन् ।