निशानामा एनसेल : एकैरात दर्जनौं टावरमा आक्रमण, एकको मृत्यु ३ घाइते

काठमाडौं – शुक्रबार राति विभिन्न जिल्लाका एनसेलका करिब एक दर्जन टावरमा आक्रमण भएको छ ।

फागुन १० गते राति बागलुङका विभिन्न स्थानमा रहेका एनसेलका टावरमा आगगजनी भएको थियो । बागलुङ नगरपालिका–७ मुल्पानी, गल्कोट नगरपालिका–८ काँडेवाँस र निसीखोला गाउँपालिका–७ राजकुतमा रहेको एनसेलको टावरमा आक्रमण भएको प्रहरीले जनाएको छ ।

गए राति रौतटको चन्द्रपुर नगरपालिकास्थित गैडाटारमा रहेको एनसेलको टावरमा पनि आगजनी गरिएको छ ।

शुक्रबार राति १२ बजे कास्कीको पोखरा महानगरपालिका–२७ चन्द्रकालिका डाँडाँको नाकस्थित एनसेलको टावरमा पनि आगजनी भएको । आगजनीबाट टावर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यता काभ्रेको कोसीपारीस्थित भुम्लु गाउँपालिकास्थित सल्ले भुम्लु डाँडामा रहेको एनसेलको बीटीएस टावरमा पनि आगजनी भएको छ । आगजनीबाट  जेनेरेटरमा सामान्य क्षति भएको जिल्लन प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर–३ सूर्यपुरामा रहेको एनसेलको टावरमा पनि गए राति नै आगजनी भएको छ ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर–७ अम्रसामा रहेको एनसेलको टावरमा भएको आगजनीबाट टावरमा क्षति पुगेको छ । नवलपुर क्षेत्रमा एनसेलको नेट्वर्कले काम गर्न छाडेको छ ।

गए रातिनै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ मा रहेको टावरमा पनि आगजनी भएको छ ।

यता, ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालयमा हिजो राति ८ बजे भएको बम विष्फोटमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विष्फोटमा भैंसेपाटी बस्दै आएका सिंहबहादुर गुरुङको मृत्यु भएको छ भने  प्रतिक्षा खड्का र उषा मानन्धर घाइते भएका छन् ।

यसैबीच प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले घटनामा संलग्नको खोजीकार्य सुरु भइसकेको जानकारी दिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *