गुरु शिष्यबीचको सम्बन्धमा किन यत्ति कठोरता?

       –सुनिता किराती

दुनियांभर शिक्षण एक मर्यादित- सम्मानित पेशा हो । आफैंलाई जलाएर उज्यालो बाड्ने मैन जस्तै हुनुहुन्छ गुरुहरु । एक उच्च मार्गदर्शक र हाम्रा सम्भावनाहरुलाई असिमित ऊर्जामा बदल्ने ताकत उहांहरुबाट प्राप्त गर्दर्छौं ।

हामीलाई पढाउनुहुने गुरुहरुसंग धेरै बर्षपछि भेट्दा नि उसैगरी श्रद्धाले हाम्रो शिर झुक्छ । एक किसिमको अद्भुत सम्मान र आत्मियता महसुस हुन्छ ।

म सम्मान र सप्रेम स्मरण गर्छु उहाँ गुरुहरुलाई जसले क ख a b c d मात्र पढाउनु भएन हामीलाई हर हिसाबले डोर्याउनु भो । यत्तिसम्मकी नुहाईदिएर कपडा धोइदिनुहुने पिता समानका शिक्षकहरुको काखमा हुर्कियौं ।

यो भन्दा अगाडि राष्ट्रिय सञ्चार माध्यमहरुमा समेत ब्रेकिङ न्युज बनेको क्याम्पस घटनालाई लिएर कयौंले मलाई स्याबासी दिए । आर्थिक अनियमितता लगायत प्रशासनिक अनियमितताको बिरुद्धमा गरिएको उक्त कार्बाही उचित थियो भनेर धन्यवाद दिए । क्याम्पसमा बढेको तनाव नियन्त्रण भन्दा बाहिर गयो र अप्रिय घटना बाध्यात्मक रुपमा घट्न गयो। नेतृत्वको हिसाबले मैले जिम्मेवारी लिए । त्यसमा मेरो ब्यक्तिगत आग्रह – पूर्वाग्रह वा रिसिइवी केही थिएन , छैन र कहिल्यै कहिल्यै हुने छैन पनि । कार्वाही जायज हुंदाहुदै पनि मलाई गम्भीर रुपमा सोच्न बाध्य बनाएको छ कि यो देशमा विद्यार्थी – विद्यार्थी बन्न सकेन कि गुरु – गुरु बन्न सक्नु भएन ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको सहायक डीन जस्तो गरिमामय जिम्मेवारी सम्हाल्ने व्यक्तिबाट सिङ्गो गुरुहरुको शिर झुकाउने अशोभनिय कार्य कसरी हुनगयो? मेरो मनमा पटक-पटक प्रश्न जन्मियो ।

एउटा भिडियो केही समय अगाडि मैले हेरेको थिए। जसमा टर्किस एयरलाइन्सका क्याप्टेनले आफुलाई सानोमा १० बर्ष सम्म पढाउनुहुने शिक्षक आफैंले चलाएको जहाजमा यात्रा गरेको थाहा पाएपछि क्रु मेम्बरसहित फूलले स्वागत गर्दै प्रेम र सम्मान व्यक्त गरेको दृष्यले यात्रुहरुलाई भावुक बनाएको थियो । यो भिडियो हेर्दै गर्दा म भावुक बने र मैले गुरुहरुलाई प्रेम र सम्मानसहित स्मरण गरे र तत्काल भिडियो शेयर गर्न मन लाग्यो तर मैले आफूलाई रोके । आफैंसंग प्रश्न गरे के म यसको नैतिक हकदार छु ? त्यसपछि मैले आफैलाई रोके ।

मृत्युदण्डको सजाय लेखिएको कलम न्यायधिश आफैंले भाचेको कथा जस्तो ; साउदी राजाले आफ्नै राजकुमारको मृत्युदण्डको लागि सहिछाप ठोके पछि आफैं रोए जस्तो कठोर परिस्थितिले कहिलेकाही अप्रिय कदम उठाउन बाध्य बनाउदो रहेछ। केवल पात्रहरु फेरिन सक्छन् र कार्वाहीका लागि कठोर जायज कारण पनि हजार हुन सक्छन तर पनि भावनात्मक रुपमा एउटा सम्मानित गुरुप्रति गरिने यो कार्य कुनै मूल्यमा सुखद कुरा हुन सक्तैन ।

आदर्श गुरुहरुप्रति यस्तो कठोर कदम उठाउन नपरोस् भन्ने कामना सहित यो आदर्श विद्यार्थीले आफ्ना गुरुप्रति व्यक्त गरेको प्रेम र सम्मानबाट म स्वयंले प्रेरणा लिने दुस्साहस गर्दै असल राष्ट्र निर्माणमा सबैले आफुलाई सकारात्मक आत्मसमिक्षा सहित दायित्वबोध गरौं भन्ने कामना गर्दछु ।

सुनिता किराती पूर्व विद्यार्थी नेतृ तथा   नेपाल कम्युनिस्ट पार्टी  को  राजनितीकर्मी  हुन  

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *