क्रीकेट खेलाडीलाई रातो कार्पेट, जनही ५ लाख पुरस्कार

काठमाडौैं – एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतापछि पहिलोपट युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको दुई महत्वपूर्ण शृंखला जितेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार रातो कार्पेट ओछ्याएर स्वागत गरिएको छ ।

विजयी नेपाली टोलीलाई नेपाल सरकारले जनही ५ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशबकुमार विष्टले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल टोलीको स्वागतका लागि पुगेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले जनही १० हजार रुपैयाँ नगद पुरस्कार दिएका छन् । यूएईविरुद्धको एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ (दुबैमा) जितेर फर्किएको नेपाली क्रिकेट टोलीको स्वागतका लागि तिमल्सिनासँगै युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशबकुमार बिष्ट, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनालगायत सयौंको संख्यामा उपस्थित समर्थकले स्वागत गरेका थिए ।

क्रिकेट टोलीको स्वागतका लागि त्रिभुवन विमानस्थलमा पहिलो पटक रातो कार्पेट ओछ्याइएको थियो । विमानस्थलमा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले खेलाडीको मेहनतले शृंखला जित्न सफल भएको बताए । उनले सरकारले खेलाडीलाई पर्याप्त सेवा सुविधा नदिएको गुनासो गरे ।

“सबैले आ–आफ्नो ठाउँबाट कोसिस गरे । बिशेषगरी युवा खेलाडीले आफुलाई प्रमाणित गरेका छन्,” मुख्य प्रशिक्षक टमाटाले भने, “दुई बर्षदेखी खेलाडीले तलब पाएका छैनन् तर पनि राष्ट्रका लागि पसिना बगाइरहेका छन् । खेलाडीका लागि सम्बन्धित निकायले सेवासुविधा बढाउन आवश्यक छ ।”

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एक जनाको प्रदर्शनले भन्दा समग्र टोलीले राम्रो खेलेका कारण जित सम्भव भएको बताए ।

“यूवा खेलाडी टोलीमा हुँदा हामीले अझ राम्रो प्रदर्शन गर्न सफल भयौं । आशा गरौं उनीहरुले यो प्रदर्शनलाई आगामी दिनमा पनि कायम राख्नेछन्,” कप्तान पारसले नेपालमा एकदिवसीय शृंखला हुने सम्भावनाबारे भने, “त्रिवि क्रिकेट मैदानको परिक्षणका लागि छिट्टै आईसीसीका प्रतिनीधिहरु नेपाल आउँदै हुनुहुन्छ । यहीअनुसार कुरा मिल्दै गयो भने छिट्टै नेपालमा एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० शृंखला हुनेछ ।”

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *