सांस्कृतिक एकताले नेपालीको एकता मजबुत : उपराष्ट्रपति

काठमाडौ– उपराष्ट्रपति नन्दबहादुर पुनले माघे सङ्क्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहेका मगर, थारू र छन्त्याल समुदाय तथा नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण रहेको बताएका छन्।

नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्व रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरङ्गी सम्मिश्रण एवम् साझा सङ्गमका रुपमा रहिआएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहार्दताका लागि विश्वकै नमूना राष्ट्र भएको स्पष्ट पारका छन्। उपराष्ट्रपतिले यस पर्वलाई सकारात्मक कामको थालनी अर्थात् सकारात्मक ऊर्जाको सुरुवातका रुपमा मनाउन र आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको मार्गमा अगाडि बढ्न आग्रह गरेका छन्।

माघीलगायत नेपालका मौलिक सांस्कृतिक एवम् धार्मिक चाडबाडहरु राष्ट्रकै सम्पत्ति भएकाले ती अमूल्य सम्पत्तिको संरक्षण एवम् प्रवर्द्धनका लागि राज्यका तर्फबाट नै उचित पहल हुनुपर्नेमा जोड दिए।

यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने र हाम्रो मौलिक संस्कृतिको संरक्षण एवम् प्रवर्द्धनमा योगदानसमेत दिने अपेक्षा उपराष्ट्रपतिले गरेका छन्।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *