सेरेमोनियल राष्ट्रपतिलाई सुविधाको थुप्रो, डेढ अर्ब खर्चेर हेलिकप्टर

काठमाडौ – सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो । सेरोमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेका बेला सरकारले उनलाई थप विवादमा तान्नेगरी २४ सै घण्टा स्ट्याण्डबाइ रहनेगरी महँगो हेलिकप्टर खरिद गरेको हो ।
यो हेलिकप्टर केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहने र शितलनिवाससँगै जोडिएको प्रहरी प्रतिष्ठान हटाएर त्यहाँ हेलिप्याड निर्माण गरी सेनाको सुरक्षामा राखिने जनाइएको छ । राष्ट्रपतिकै लागि सरकारले केही महिनाअघि मात्रै मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर १४ करोड रुपैयाँका महँगा गाडीहरू किन्ने निर्णय गरेको थियो ।

केही साताअघि नै हेलिकप्टर नेपाल आइसके पनि खरिद शर्त÷सम्झौताअनुसार कागजात बुझ्ने क्रममा भएका कारण हेलिकप्टर हस्तान्तरण प्रक्रिया भने पूरा भइनसकेको सेनाले जनाएको छ । सरकारले राष्ट्रपतिका लागि हेलिकप्टर खरिद गर्ने भन्ने बुँदा राख्दा देशभर विरोध हुनसक्ने देखेर ‘भीभीआइपीका लागि भन्ने’ वाक्यांश राखेको उच्च स्रोतले जानकारी दियो । सेनाका एक उपरथीले पनि अगुस्टा हेलिकप्ट राष्ट्रपतिका लागि नै भएको बताए । “इटलीबाट आएको अगुस्टा हेलिकप्टर राष्ट्रपति सवार हुँदा प्रयोग गर्न ल्याइएको हो, यसलाई नामाकरण भने ‘भीभीआइपी’ले प्रयोग गर्ने हेलिकप्टर भनिएको हो,” ती उपरथीले भने, “यो हेलिकप्टर राष्ट्रपतिका लागि २४ सै घण्टा स्ट्याण्डबाई रहने छ ।”
नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले राष्ट्रपतिका लागि खरिद गरिएको उल्लेख त गरेनन् । तर उक्त हेलिकप्टर भीभीआइपी उडान भर्न खरिद भएको बताए । उक्त हेलिकप्टर नेपाल आइसेकको जानकारी पाएको तर खरिद शर्त÷सम्झौता अनुसार भए÷नभएको बुझ्ने काम भइरहेकोले हस्तान्तरण कार्य बाँकी रहेको बताए ।

“भीभीआइपी उडानका लागि अगुस्टा हेलिकप्टर खरिद भएको हो,” प्रवक्ता भण्डारीले भने, “हेलिकप्टर नेपाल आइसकेको जानकारी पाएका छौं, यद्यपि शर्तसम्झौताअनुसार खरिद भएनभएकोबारे बुझ्ने काम भइरहेको छ ।” अगुस्टाको स्थानीय एजेण्टले नेपाली सेनाका विमान चालकमार्फत परीक्षण उडानसमेत सम्पन्न गराइसकेको जनाइएको छ ।
बेल र इकुरेल पनि आइपुगे
सैनिक मुख्यालयले खरिद गरेका इकुरेल र बेल हेलिकप्टर पनि नेपाल आइसकेका छन् । ६ सिटे बेल र ४ सिटे इकुरेल हेलिकप्टर सेनाको हवाई क्षमता अभिवृद्धिका लागि भन्दै गत वर्ष सरकारले बजेट विनियोजन गरेको थियो । अगुस्टा, इकुरेल र बेलबाहेक २ वटा ट्रेनर र एउटा स्काइट्रक (फिक्स विङ कार्गो) पनि खरिदका क्रममा छन् । बेल अमेरिकी र इकुरेल फ्रान्सेली कम्पनीका हेलिकप्टर हुन् । सेनाले ३० सीट क्षमताका अन्य २ हेलिकप्टर पनि खरिद गर्न प्रस्ताव गरेको थियो । तर, बजेट अभाव देखाउँदै यो प्रस्ताव रक्षाले अघि बढाएको छैन । तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणाका पालामा रुसबाट सेनाले २ वटा एमआई १७ हेलिकप्टर ३ अर्ब १७ करोड रुपैयाँमा किनेको थियो । “इकुरेल सेनालाई हस्तान्तरण भइसकेको छ । अगुष्टा र बेल पनि आइसकेको छ, बेल चाँडै नै ह्याण्डओभर हुने छ,” सैनिक प्रवक्ता सहायकरथी भण्डारीले भने ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *