आन्दोलनमा जान नदिएको भन्दै विद्यालय बन्द

रसुवा– विरोधसभा कार्यक्रममा जान नपाएपछि रसुवाका शिक्षकहरूले शुक्रबार विद्यालय बन्द गराएका छन्।

काठमाडौँ केन्द्रित शिक्षक जुलुस तथा विरोधसभा कार्यक्रममा भाग लिन जान लागेका शिक्षकलाई प्रहरीले रोकेको विरोधमा जिल्लाका शिक्षकले जिल्लाभरका सामुदायिक तथा निजी विद्यालय बन्द गराएका हुन्।

शुक्रबार बिहान जिल्लाबाट दुईवटा गाडी लिएर काठमाडौं जान लागेका टोलीलाई बेत्रावतीमा नेपाल प्रहरीले अवरोध गरेको नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति रसुवाका अध्यक्ष मोचनाथ न्यौपानले बताए।

काठमाडौं जान नपाएपछि शिक्षकले जिल्लाको बेत्रावतीदेखि कालिकास्थानसम्म नारा जुलुस गरेका छन्। न्यौपानेले भने, ‘नेपाल शिक्षक महासंघ केन्द्रीय समितिको पूर्व घोषित कार्यक्रमअनुसार हामी काठमाडौं जान लागेका थियौँ, त्यही क्रममा प्रशासनले रोक लगायो।’

परिपत्रमा एक दिन जिल्लाको विधालय बन्द गरिएको बताइएको छ। त्यस्तै शुक्रबार जिल्लाको बेत्रावतीदेखि कालिकास्थानसम्म जुलुससहित कोण सभा गरेको समेत उनले बताए।

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा बेत्रावती प्रहरी चौकीले अवरोध खडा गरेको महासंघले आरोप लगाएको छ। एक दिन विद्यालय बन्द हुदाँ पठनपाठन प्रभावित भएको थियो।

नेपाल शिक्षक महासंघको घोषित तेस्रो चरणको कार्यक्रम अन्तर्गत शुक्रबार काठमाडौंमा विरोधसभा थियो।

२६ बुँदे माग राख्दै नेपाल शिक्षक महासंघले घोषणा गरेको तेस्रो चरणको धर्ना तथा विरोध कार्यक्रममा नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरूले सहभागिता जनाउन लागेका थिए।

नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौताको कार्यान्वयन नभएको भन्दै शिक्षकहरू आन्दोलित भएको नेपाल शिक्षक महासंघ रसुवाका अध्यक्ष मोचनाथ न्यौपानेले बताए।

नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको लिखित सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपरेको उनको भनाइ छ।

विज्ञापन गरेर पनि पटक पटक स्थगित गरिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षाको मिति तोकेर अविलम्ब परीक्षा लिनुपर्ने, स्थानीय तहबाट आफू खुशी बनेका कार्यविधि, नियमावली, तथा ऐनको कार्यान्वयन प्रादेशिक र संघीय ऐन बनेपछि मात्रै गर्नुपर्ने लगायतका माग महासंघले राखेको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *