‘सामाजिक सुरक्षा कार्यक्रम’ राम्रो, प्रचार भड्किलो

काठमाडौं- सरकारले मंगलबारदेखि सुरु गरेको ‘सामाजिक सुरक्षा योजना’ ठीक कि बेठीक भन्ने राष्ट्रिय बहस सुरु हुन बाँकी नै छ । सरकारले व्यापक प्रचारका साथ यो कार्यक्रमलाई ‘नयाँ युगको सुरुवात’ भने पनि घोषणा कार्यक्रममै मन्तव्य दिएका रोजगारदाताहरुले भने यसको कार्यान्वयन पक्ष निकै चुनौतीपूर्ण रहेको बताइसकेका छन् ।

सिद्धान्ततः सामाजिक सुरक्षा योजनालाई जनताको हित अनुकुलकै कार्यक्रम मानिन्छ विश्वभरि । तर, कतिपय सिद्धान्त राम्रा हुँदाहुँदै पनि लोकतन्त्र र पारदर्शिता संस्थागत नभइसकेको देशमा राम्रा कार्यक्रमहरु पनि असफल हुने गरेका थुप्रै उदाहरणहरु छन् । त्यसर्थ व्यवसायीहरुले औंल्याएझैं यो कार्यक्रम हाम्रा लागि नयाँ र सकारात्मक हुँदाहँदै पनि कार्यान्वयनका चुनौतीहरु भने निकै नै जटिल हुन सक्छन् ।

सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन राम्रोसँग हुन सकेन भने सरकारले भनेजस्तै यसले मजदुर र रोजगारदाता दुबै वर्गको समस्या एकैसाथ जादुमय तरिकाले समाधान गर्न सक्दैन । त्यसैले सरकारी अधिकारी र नेताहरुझैं मजदुरको जीवनमा यसले कायापलट नै ल्याउन लाग्यो भनिहाल्नु हतारो हुन सक्छ । नेपाली श्रमिकको भविश्य अझै पनि परीक्षाकै चरणमा छ ।

सरकारले ल्याएको सामाजिक सुरक्षा योजना, यसका सकारात्मक पक्षहरु र चुनौतीका बारेमा रौंचिरा विश्लेषण गर्न अझै केही समय लाग्न सक्छ । यो कार्यक्रम आएकै दिन यसबारे आलोचनात्मक टिप्पणी गरिरहनुभन्दा यस कार्यक्रममा के–कस्ता विषय समेटिएका छन् भन्ने चर्चा हुनु सान्दर्भिक छ । सामाजिक सुरक्षा ऐन, नियमावली र निर्देशिकाले के भनेको छ भन्नेबारेमा पर्याप्त छलफल हुन आवश्यक छ ।

यद्यपि सैद्धान्तिक पाटोबाट हेर्दाचाहिँ सामाजिक न्यायसहितको लोकतन्त्रको बाटोमा हिँडेका हामी नेपालीहरुका लागि सामाजिक सुरक्षाको योजनालाई जायज र सकारात्मक नै मान्न सकिन्छ ।

मोदीको नक्कल गर्न खोज्दा सरकारको आलोचना

सरकारले सोमबार साँझदेखि नै जसरी काठमाडौंका गल्लीहरुमा प्रधानमन्त्री केपी ओलीको पोस्टर टाँगेर मालसामान विक्री गरेजस्तो मार्केटिङ सुरु गर्‍यो, यसले सामाजिक सुरक्षा कार्यक्रम भन्दा पनि कस्मेटिक बहसलाई प्रोत्साहित गर्‍यो ।

पत्रपत्रिकामा आएका विज्ञापनहरु जनतामा चासो जगाउन पर्याप्त थिए । तर, सरकारले सडकमै राजा–महाराजाको शैलीमा प्रधानमन्त्रीको फोटो टाँग्न थालेपछि ‘अति भयो’ भन्नेहरु सामाजिक सञ्जालमा बढी देखिए ।

मंगलबार सार्वजनिकरुपमा आएका प्रतिक्रियाहरुलाई हेर्दाखेरि बहसलाई विषयान्तर गर्नमा सरकारको भड्किलो प्रचार शैलीले भूमिका खेलेको देखियो ।

सडकमा प्रधानमन्त्री ओलीका पोष्टरहरु टाँग्ने कार्य भारतमा नरेन्द्र मोदीले गरेको प्रचारसँग ठ्याक्कै मिल्दोजुल्दो देखिएको छ ।

सामाजिक सुरक्षा योजनाबारे बहस हुनुपर्नेमा प्रधानमन्त्रीको प्रचारबाजीले कसरी विषयवस्तुलाई विषयान्तर गर्‍यो भन्ने प्रमाणका लागि सामाजिक सञ्जालमा आएका केही प्रतिक्रिया हेरौं–

बरिष्ठ पत्रकार तीर्थ कोइरालाको प्रतिक्रिया छ– ‘राम्रो काम शुरू । सफलताको शुभकामना । सामाजिक सुरक्षाको शुभारम्भ पनि बिशेष समारोहका वीच गरेको राम्रो । यसलाई स्थायित्व दिनुपर्छ । काम भएपछि यो आफैं प्रचार हुने र प्रशंसा पाउने कुरा हो । दिसा गरेपछि साबुनपानीले हात धुनुहोस, सार्वजनिकस्थलमा धुमपान नगरौं, फोहोर जताततै नफालौं जस्ता जनचेतना फैलाउने कुरालाई यसरी प्रचार गर्दा हुन्छ । प्रचार चर्को भो !’

पूर्वाधारविद एवं विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यको प्रतिक्रिया छ– ‘योगदानमा आधारित सामाजिक सुरक्षा (भत्ता) सही नीति हो । तर, यसले गर्दा ‘नयाँ युग’ नै शुरु भन्ने उत्ताउलो प्रचारबाजी देख्दा उदेक लाग्यो । सरकारले सामान्य रोजगारीका लागि घर–परिवार छाडेर विदेशिनु परेका नेपालीका लागि देशमै रोजगारीको जोहो गरोस्, सबले ‘नयाँ युग’ को अनुभूति गर्ने छन् ।’

विश्लेषक तथा लेखकका रुपमा परिचित विवेकशील साझा पार्टीकै अर्का नेता केशव दाहालको प्रतिक्रिया छ– ‘धेरै के भनौं, देख्नलाई अनेक कुरा छन् । किनकि दुईतिहाईको सरकार जो छ । पोल पोलमा समृद्धि ।’

विपक्षी दल कांग्रेसका युवा नेता धनराज गुरुङले लेखेका छन्– ‘विकास कसरी गर्नुपर्छ सरकारलाई थाहा छ– प्रम ओली । प्रमज्यु, तपाईंको उक्त भनाइलाई पुष्टि गर्नकै लागि शहरका पोलहरुमा तपाईंको फोटो झुण्याइसक्नुभएछ । तुइन भएका ठाउँहरुमा पनि दुई छेउमा तपाईंको उक्त फोटो राख्न लगाउनु प¥यो । तुइन तर्ने जनताले तुइन तरिसकेपछि हजुरको फोटोमा फूल चढाओस् ।’

चर्चित पत्रकार विजयकुमार पाण्डे ट्विटरमा लेख्छन्– एसियाको दोस्रो गरिब देशका अखबारका ‘ज्याकेट’ र अनलाइनका ‘रोड ब्लक’ र राजधानीका पोल पोलमा ‘नयाँ युगको सुरुवात’ भएको छ । कर्तव्यविनाको अधिकार, उत्पादनविनाको वितरण, योग्यताविनाको आकांक्षा र उत्तरदायित्वविनाका घोषणामा रमाउने हामी सबैलाई बधाई !’

त्यसैगरी पत्रकार सुधीर शर्माले प्रधानमन्त्रीका प्रचारशैलीबारे छोटो वाक्यमा लेखेका छन्– ‘आज रमिता छ ।’

प्रेस चौतारीका नेतासमेत रहेका पत्रकार गणेश बस्नेत लेख्छन्– ‘सामाजिक सुरक्षा योजनाको पनि विरोध गर्ने भनेपछि त सक्कि गो नि, मनुवाहरु के चाहन्छन् भन्ने । नागरिकको पक्षमा सरकारले गरेको यति ऐतिहासिक कामको पनि विरोध ? कुण्ठा त्यागेर राम्रो कामको स्वागत र समर्थन गरौं । आजबाट एउटा दियो बल्दैछ आशाको । एउटा सूर्य उदाउँदैछ भरोसाको । एउटा युगको अन्त्य हुँदैछ अन्धकारको । एउटा युगको शुरु हुँदैछ, उत्साहको । एउटा उत्सव मनाउँदैछ देशले, सामाजिक सुरक्षाको । सबैले साथ दिऔं ।’

सामाजिक सञ्जालमा देखिएका अधिकांश प्रतिक्रियाहरु सामाजिक सुरक्षा कार्यक्रमका बारेमा भन्दा बढी प्रधानमन्त्रीको तस्वीर सडकका पोलमा टाँगिएको विषयमा बढ्ता केन्द्रित छन् । सरकारले ल्याएको नयाँ कार्यक्रमबारे भने खासै बहस केन्द्रित भएको देखिँदैन ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *